महिला गोल्डकप : पुलिस र एपीएफ फाइनलमा

वैशाख २३, २०८२

सुवास विडारी

Women's Gold Cup: Police and APF in the final

मकवानपुर — विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब सहिद स्मृति स्थानीय तह महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले चितवनको महिला टोलीलाई ७–० गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

पुलिसको जितमा मीना देउवा र निर्मला उपाध्यायले ह्याट्रिक गरे । मीनाले खेलको २१, ४० र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा निर्मलाले ३४, ६६ र ८० औं मिनेटमा गोल गरेकी हुन् । 

पुलिसका लागि अर्को १ गोल ४५ औं मिनेटमा सुस्मा तामाङले गरिन् । ह्याट्रिक गरेकी देउवा खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।

मंगलबार दिउँसो भएको दोस्रो सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जितमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत र केसीले पनि बस्नेतकै असिष्टमा गोल गरेकी हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

फाइनल खेल यही २५ गते हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा पहिलो पटक हेटौंडामा महिला गोल्डकपको आयोजना भएको हो । यसअघि पुरुष गोल्डकपको आयोजना हुँदै आएकोमा संघले यस वर्ष महिला गोल्डकप सञ्चालन गरेको हो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर र अन्य विधागत उत्कृष्टले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए । गोल्डकपमा ८ वटा टिमको सहभागिता रहेको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully