काठमाडौँ — हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार हाउन्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५–८१ स्कोरको जित दर्ता गरेको हो । प्रतिस्पर्धात्मक खेलमा हाउन्ड्स र टाइम्सले दुवैले अग्रता बनाएका थिए ।
टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २९ स्कोर गरे पनि जिताउन सकेनन् । हाउन्ड्सका सुजल खड्काले २१ स्कोर गरे ।
हाउन्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेयर चुनिए । हाउन्ड्सले पहिलो खेलमा रोयल्सलाई हराएको थियो ।
टाइम्सको यो पहिलो हार हो । टाइम्सले यसअघि गोल्डेनगेट बास्केटबल क्लबमाथि सफलता पाएको थियो ।
मंगलबारै दोस्रो खेलमा गोल्डेनगेटले रोयल्सलाई ७९–७२ स्कोरले पराजित गरेको छ । गोल्डेनगेटको पहिलो जित हो । गोल्डेनगेटको जितमा निकेश मगरले २७ स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेयर चुनिए । रोयल्सका प्रसनध्वज मास्केले २५ स्कोर गरे ।
बुधबार सामाखुसी युथ र कीर्तिपुर क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो ।
६ टोली सहभागी लिग डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको छ ।
