मकवानपुर — विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरमा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७–० गोलले हराउँदै पुलिस उपाधिसम्म पुग्ने नजिक पुगेको हो।
पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन्। देउवाले खेलको २१औं, ४०औं र ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने उपाध्यायले ३४औं, ६६औं र ८०औं मिनेटमा गोल गरेकी हुन्। पुलिसका लागि अर्को एक गोल ४५औं मिनेटमा सुश्मा तामाङले गरिन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी देउवा प्लेयर अफ द म्याच घोषित भइन्। उनले पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरिन्।
फाइनलमा प्रवेश गरिसकेको पुलिस क्लब अब बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र संकट क्लबबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ। एपीएफ र संकटा क्लबबीचको सेमिफाइनल खेल मंगलबार दिउँसो ३:३० बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
