गोदावरी मेयर कप : काठमाडौं र ललितपुर महानगर विजयी

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Godavari Mayor's Cup: Kathmandu and Lalitpur metropolis won

काठमाडौँ — काठमाडौं र ललितपुर महानगरपालिकाले सोमबार दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा विजय प्राप्त गरेका छन् ।

अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । वर्षाका कारण गोदावरी–१० स्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा खेलाइएको थियो । उक्त खेलमा ललितपुर महानगरले बागमती गाउँपालिकालाई ७–३ गोलले हरायो । 

ललितपुरबाट राफिल मर्हजन र नीरज मर्हजनले २–२,  सनी व्यञ्जनकार, विशाल बानियाँ र नवीन कर्माचार्यले १–१ गोल गरे । समूह ‘ए’ बाट गोदावरी नगर र ललितपुर महानगरले ३–३ अंक बटुलेका छन् । बागमती गाउँपालिका र महालक्ष्मी नगरपालिका अंकबिहीन छन् । 

एन्फा कम्पेल्स भएको खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० ले हरायो । डिफेन्डिङ च्याम्पियन काठमाडौंबाट राज पौडेलले २, अखिलेश कार्की, सरोज तामाङ र विराज मर्हजनले १–१ गोल गरे ।

गोदावरीमै खेलाउने तयारी भइरहँदा अकस्मात फेरि वर्षा भएपछि खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सारिएको थियो ।

गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबारै भएको एकमात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले पराजित गर्‍यो । दक्षिणकालीका अमित तामाङले ह्याट्रिक पूरा गरे । एक गोल नवीन कर्माचार्यले एक गोल थप्दा एक आत्मघाती गोल थियो ।   

आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका १३ पालिकाको सहभागिता छ । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully