राष्ट्रिय पुरुष हक्की फाइनलमा आर्मी र गण्डकी

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Army vs Gandaki in National Men's Hockey Final

काठमाडौँ — आर्मी र गण्डकी प्रदेश मंगलबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनल पुगेका छन् । ललितपुरस्थित च्यासल रंगशालामा भएको पहिलो सेमिफाइनलमा कासीराज राईको ह्याट्रिक गोलमा आर्मीले नवप्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले हरायो । आर्मीका लागि थप गोलमा राजेन्द्र कार्कीले २ र प्रदीप राजवंशीले १ गोल गरेका थिए ।

आर्मीका देवसिंह धामी प्लेयर अफ द म्याच भए ।

फाइनल प्रवेशसँगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा छ । सोमबार राष्ट्रिय महिला हक्कीमा आर्मीले गण्डकीलाई हराएर उपाधि जितेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा २–१ ले हरायो । गण्डकीका जोसन राई प्लेयर अफ द म्याच भए । निर्धारित समय गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो ।

शुटआउटमा गण्डकीका संगम घर्तीमगर र असिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान गोल गर्न असफल भए । पुलिसका सुरज बोहराबाहेक अन्यले गोल अवसर सदुपयोग गर्न सकेनन् । नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल रानाले गोल गर्न सकेनन् । फाइनल बुधबार हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully