राष्ट्रिय महिला फुटबल : एपीएफले वीरगन्जलाई १२-० ले हरायो

सेमिफाइनल समीकरण पूरा

वैशाख २२, २०८२

सुवास विडारी

National Women's Football: APF beat Birgunj 12-0

मकवानपुर — हेटौंडामा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।  सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले वीरगञ्ज  युथ एकेडेमीलाई १२-० गोलअन्तरको फराकिलो जित निकालेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

फाइनल प्रवेशका लागि सशस्त्रले ए डिभिजन टोली संकटाको सामना गर्नेछ । अन्तिम दुईमा पुग्नका लागि नेपाल पुलिस क्लबले चितवन फुटबल क्लबसँग प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल मंगलबार हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी प्रतियोगिताअन्तर्गत वीरगन्जसँगको खेलमा एपीएफले एक दर्जन गोल गर्दै उपाधिमा दावेदारी प्रस्तुत गरेको छ । अधिकांश अनुभवी र महिला फुटबलको चर्चित खेलाडीसहित मैदानमा उत्रिएको एपीएफ खेलभरी पूर्ण रूपमा वीरगन्जमाथि हाबी भयो ।

एपीएफले डिबक्स बाहिरबाट प्रहार गरेको अधिकांश बल गोलमा परिणत भएको थियो । खेलमा वीरगन्जका फरवार्डले केही राम्रो मौका प्राप्त गरे पनि डिफेन्स र मिडफिल्डर भने कमजोर सावित भएको थियो । त्यसको फाइदा उठाउँदै एपीएफले वीरगन्जलाई दबाबमा राखेको थियो ।

पहिलो हाफमा ५ गोल गरेको एपीएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपीएफको जितमा रश्मीकुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थप गोल गरिन् । यो सँगै रश्मीले गोल्डकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेकी छिन् । यस अघि संकटाकी ममता पुनले सिमराविरुद्धको खेलमा व्यक्तिगत ५ गोल गरेकी थिइन् ।

सरु लिम्बूले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसी, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योञ्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् ।

खेलको म्यान अफ द म्याच रश्मी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully