लायन्स कप भलिबल : इरानी टोलीलाई उपाधि

वैशाख २२, २०८२

अनुप पौडेल

Lions Cup Volleyball: Title for Iranian team

कास्की — इरानी भलिबल टोलीले पोखरामा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय इन्डोर भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएर इरानी टोलीले प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि जितेको हो । इरानी टोलीले पुलिसलाई ३–१ को सेटमा हरायो ।  

पहिलो सेट २५–१८ ले जितेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो र चौथो सेट इरानी टोलीले जित्यो । उक्त टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जितेको हो । विजेता टोलीले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेता पुलिस क्लबले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

त्रिभुवन आर्मी क्लब तेस्रो भयो । सोमबार नै भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ को सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो । आर्मीले पुरस्कारबापत १ लाख ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

इरानी टोलीका आमिर होसेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गरे । इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक बने ।

उनीहरूले ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार पाए । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ देखि सुरू भएको प्रतियोगितामा इरानी र भारतीयसहित ६ टिम सहभागी थिए । 

अनुप

Link copied successfully