खोटाङ — केएफए सूचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा जेठ ७ गतेदेखि १० सम्म दिक्तेल रंगशालामा प्रतियोगिता हुने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने इलेभेन ए साइडको फुटबल खेलमा जिल्लाका सात र एक अतिथि गरी आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
विजेताले २ लाख र उपविजेताले १ लाख नगद पाउने खेल संयोजक रोशिष श्रेष्ठले जनाए । उनका अनुसार उत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही ४ हजार पाउने छन् । उदीयमान खेलाडीलाई २ हजार र प्लेयर अफ द म्याचलाई १ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
११ खेलाडीमध्ये तीन जना जिल्ला तथा देशबाहिरका खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ । छैटौं संस्करणमा खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लब, सोल्मा स्पोटर््स क्लब, बाक्सिला फुटबल क्लब, नुनथला स्पोटर््स क्लब, नेर्पा स्पोर्ट्स क्लब, माटिकोरे सामाजिक सेवा क्लब र नेपाल आर्मी रणभीम गण सहभागी हुने आयोजकले जनाएको छ । केएफएले वर्षैपिच्छे फुटबल प्रतियोगिता गर्दै आएको छ । पहिलो संस्करणमा केएफए, दोस्रोमा युवा जागरण, तेस्रोमा योङ ब्वाइज युनाइटेड, चौथोमा नेर्पा स्पोर्ट्स क्लब र पााचौं संस्करणमा केएफएले उपाधि जितेको थियो ।
