धनकुटा — धनकुटामा सम्पन्न भलिबल उत्सवमा आयोजित प्रतियोगिताको पुरुष तर्फको उपाधि चौबिसे तथा महिला तर्फको उपाधि साँगुरीगढी गाउँपालिकाले हात पारेका छन् । भलिबल संघ धनकुटाले आयोजना गरेको उत्सवको फाइनलमा पुरुषतर्फ पाख्रिबास नगरपालिकालाई ३-१ सेटले हराउँदै चौबिसेले उपाधि हात पारेको हो ।
चौबिसेले पाख्रिबासलाई २०–२५, २५–२०, २५–२१ र २५–२१ पराजित गरेको हो। च्याम्पियन बनेको चौबिसे टिमले ५० हजार रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता पाख्रिबास नगरपालिकाले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
उता, महिला तर्फको उपाधी साँगुरीगढीले हात पारेको छ । च्याम्पियन बनेको साँगुरीगढीले सहिदभूमिलाई साँगुरीगढीले २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा हराएको हो । उपाधिसँगै साँगुरीगढीले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको सहिदभूमिले ३० हजारमा चित्त बुझाएको छ।
विजेता र उपविजेता टिमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राई, कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई र धनकुटाका अध्यक्ष गौरव कार्कीले पुरस्कार र प्रमाण पत्र प्रदान गरे । पन्ध्र दिनसम्म सञ्चालन भएको भलिबल उत्सवमा धनकुटाका सात स्थानीय तहबाट पुरुषतर्फ २० वटा र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
