राष्ट्रिय महिला फुटबल : नेपाल पुलिस विजयी

वैशाख २१, २०८२

सुवास विडारी

National Women's Football: Nepal Police won

मकवानपुर — नेपाल पुलिस क्लब हेटौंडामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै  पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेलको नतिजा सिधै टाइब्रेकरबाट लिइएको हो ।

विजयी टोली पुलिसको तर्फबाट टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाइबाले गोल गरिन् भने गीमकुमारी गुरुङको प्रहार बाहिरिएको थियो ।  रौतहटका लागि सविना चौधरी र सलोनी रानाले गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाएकी थिइन् । खेलको म्यान अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । जितसँगै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा प्रहरी र रौतहटले केही राम्रो मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

प्रतियोगिताअन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपीएफ क्लब र वीरगन्ज युथ एकेडेमबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully