विजेतालाई कार्ल्सबर्गको कोपनहेगन ट्रिप
काठमाडौँ — गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा आयोजित एकदिवसीय 'कार्ल्सबर्ग गल्फ क्लासिक-२०२५' प्रतियोगिता सम्पन्न भएको छ । १०० गल्फरले भाग लिएको प्रतियोगितामा ४२ अंकसहित फुन्टसोक एन लामा विजयी भएका छन् ।
लामाले पुरस्कारस्वरूप डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रिप पाएका छन् । त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि भने टासी छिरिङले जिते ।
महिलातर्फ गीता गुरुङ २५ अंकसहित विजेता बनेकी छन् । सिनियरतर्फ ३३ अंकसहित अर्जुनकुमार कार्की विजयी भए भने सुस्मिता खड्का महिलातर्फ उपविजेता बनीन् । छेवाङ शेर्पाले 'क्लोजेस्ट टु द पिन' अवार्ड जिते भने प्रकाश गुरुङले 'लङ्गेस्ट ड्राइभ' को उपाधि हात पारे ।
मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जिते । सबै विजेतालाई ट्रफी र कार्ल्सबर्गका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरियो ।
प्रतियोगिताका विजेतालाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको आयोजना कार्ल्सबर्गले गरेको हो ।
