मकवानपुर — हेटौंडामा भइरहेको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा शनिबार संकटा क्लबले नव जनजागृति क्लब सिमरालाई हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।
गौरीटार रंगशालामा संकटाले एकपक्षीय खेलमा ६–१ गोलको नतिजा निकालेको थियो । खेलको नवौं मिनेटमै ममता पुनमगरको गोलमार्फत संकटाले लिएको थियो । ममता एक्लैले ५ र जेनिफर राना मगरले एक गोल गरेका थिए । ममताले २१, ३५, ६७ र इन्ज्युरी समयमा गोल थप्दै व्यक्तिगत गोलसंख्या ५ पुर्याएकी हुन् । जेनिफरले १३ औं मिनेटमा एक गोल गरेकी हुन् ।
सिमराबाट रोजिना लामाले ७९ औं मिनेटमा एक गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित भयो । ५ गोल गरेकी संकटाका ममता प्लेयर अफ द म्याच भइन् । उनले १० हजार रुपैयाँसहित ट्रफी पाइन् । आइतबार नेपाल पुलिस क्लव र रौतहट जिल्ला महिला टिमबीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
