कास्की — पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौंथो र पाँचौं सेट जितेसँगै सेमिफाइनल पुगेको हो । एपीएफले चौंथो सेट निकै उत्कृष्ट खेल्यो । ३ अंकले पछि परेको अवस्थामा एपीएफले चौंथो सेटमा लगातार १२ अंक जोडेर अन्त्यमा २५–१४ को जित निकाल्यो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो ।
एपीएफको जितसँगै समूह ‘ए’बाट सेमिफाइनल खेल्ने दुई टोलीको टुंगो लागेको छ । उक्त समूहबाट इरानको इरानी भलिबल टिम समूह विजेता बनेर शुक्रबार सेमिफाइनल प्रवेश गरिसकेको छ ।
दोस्रो खेल समूह ‘बी’अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच जारी छ । यो खेलको नतिजाले सेमिफाइनल समीकरण टुंगो लाग्नेछ । पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा १–१ जित दर्ता गराएका छन् । एक खेल खेलेको आर्मी जितविहीन छ । आर्मीले खेल जितेमा अंकको आधारमा निर्णय हुनेछ । आर्मी पराजित भएमा पुलिस र भारतीय टोली सेमिफाइनल पुग्नेछन् ।
विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रोले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टले जनही ८ हजार ४ सय ४४ रुपैयाँ पाउने लायन्स डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ ।
