बास्केटबल लिगमा कीर्तिपुर र हाउन्ड्स विजयी

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Kirtipur and Hounds win in basketball league

काठमाडौँ — कीर्तिपुरले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शनिबार सामाखुशी युथ क्लबलाई ८४–५९ स्कोरले पराजित गरेको छ ।

कीर्तिपुर कभर्डहलमा घरेलु टोलीले पहिलो क्वाटरमा पछि परे पनि दोस्रो क्वाटरमा पुनरागमन गरेको थियो । तेस्रो क्वाटर सामाखुसीले आफ्नो पक्षमा पारे पनि चौथो तथा अन्तिम क्वाटरमा फराकिलो अग्रतासहित कीर्तिपुरले खेल जितेको हो ।

सामाखुसीले १२–१० को अग्रता लियो । दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४–१२ को स्थिति बनायो । तेस्रोमा सामाखुसीले २९–२५ ले आफ्नो पक्षमा पारे पनि चौथो क्वाटर कीर्तिपुरले २५–६ मा अग्रता बनाएपछि खेल जितेको हो । कीर्तिपुरका सयुन राई मोस्ट भ्यालुएबल प्लेयर भए ।

शनिबारै हाउन्ड्स एकेडेमीले रोयल्सलाई ८७–७८ ले हरायो । हाउन्ड्सले पहिलो क्वाटर २१–१४ ले अग्रता बनायो । रोयल्सले पुनरागमन गर्दै दोस्रो क्वाटर २६–२२ ले आफ्नो पक्षमा पार्दै हाउन्ड्सलाई टक्कर दियो । त्यसपछि तेस्रो २४–१९ र चौथो क्वाटर २०–१९ ले आफ्नो पक्षमा पार्दै हाउन्ड्सले खेल जित्यो । विजय बुर्जा मोस्ट भ्यालुएबल प्लेयर भए ।

लिगमा आइतबार टाइम्स र गोल्डेनगेट कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल बास्केटबल संघ नेबाको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ ।

कान्तिपुर

Link copied successfully