राष्ट्रिय हक्की : गण्डकी र आर्मीको दोस्रो जित

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

National Hockey: Second win for Gandaki and Army

काठमाडौँ — गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ  ललितपुरस्थित च्यासल रंगशालामा शुक्रबार गण्डकीले मधेश प्रदेशलाई २–१ गोलले पराजित गर्‍यो । गण्डकीको जितमा मयुरी राईले दुई गोल गरिन् । उनी प्लेयर अफ द म्याच पनि भइन् । मधेशकी गीता कुमारीले एक गोल फर्काइन् ।

राउन्ड रोबिन लिगको आधारमा भइरहेको महिलातर्फको खेलमा गण्डकीको दोस्रो जित हो । गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

दुई जित निकाल्दै गण्डकीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  

पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । समूह ‘ए’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १०–१ गोलको जित पायो । आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक गोल गरे । प्लेयर अफ द म्याच राजेन्द्र कार्की र अमरबहादुर गुरुङले समान २ तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशीराज राईले १–१ एक गोल गरे ।

आर्मीको दोस्रो जित हो भने मधेशले दोस्रो हार बेहोरेको छ । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेश भने कोसीसँग पराजित भएको थियो । पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् ।

समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ गोलले हरायो । कर्णालीका प्रेम भण्डारी र जीवा रावतले १–१ गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ द म्याच भए । बागमतीका समीर घिमिरेले एक गोल गरे ।

National Hockey: Second win for Gandaki and Army

कान्तिपुर

Link copied successfully