७ खेल जितेपछि मुम्बई इन्डियन्सको प्लेअफमा स्थान निश्चित गर्ने सम्भावना बलियो
जयपुर — मुम्बई इन्डियन्स बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ । मुम्बईले बिहीबार राजस्थान रोयल्सलाई १ सय रनले पराजित गरेको थियो । ११ खेलमा आठौं पराजय भोगेपछि राजस्थान प्लेअफ दौडबाट बाहिरिएको छ । यसअघि चेन्नई सुपर किंग्स पनि प्लेअफबाट बाहिरिसकेको छ ।
पहिलो चारमध्ये ३ खेलमा पराजय भोगेको मुम्बई लगातार छैटौं खेल जितेर शीर्षमा पुगेको हो । ११ मध्ये ७ खेल जितेपछि मुम्बईले प्लेअफमा स्थान निश्चित गर्ने सम्भावना थप मजबुत बनाएको छ ।
सबई मानसिंह रंगशालामा टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा २ विकेट गुमाई २ सय १७ रन बनाएको थियो । ओपनरद्वय रायन रिकेलटन र रोहित शर्माले अर्धशतक बनाए । रिकेलटनले ३८ बल खेल्दै ७ चौका र ३ छक्कासहित ६१ तथा रोहितले ३६ बलमा ९ चौकासहित ५३ रन बनाए ।
यी दुई आउट भएपछि आएका सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्येले अन्तिम ४४ बलमा ९४ रन जोडे । दुबै समान २३ बल खेल्दै ४८ रनमा अविजित रहे । सूर्यकुमारले ४ चौका र ३ छक्का तथा हार्दिकले ६ चौका र १ छक्का प्रहार गरे ।
जबाफमा राजस्थान १६.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो । अघिल्लो खेलमा शतक बनाएका वैभव सूर्यवंशीलाई दीपक चाहारले दोस्रो बलमा शून्यमा आउट गरे । मुम्बईले पहिलो ५ ओभरमा ४७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तल्लोक्रममा ब्याटिङ गरेका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए । उनले २७ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे । कप्तान रियान पराग १६, नितिश राना ९, ध्रुव जुरेल ११, शिवम दुबे १५ रनमा आउट भए ।
सिमरन हेटमायरलाई पहिलो बलमै जसप्रित बुमराहले आउट गरे । उनले त्यो ओभरमा परागलाई पनि आउट गरेका थिए । ट्रेन्ट बोल्ट र करण शर्माले ३–३ विकेट लिए । शर्माले ४ ओभरमा २३ र बोल्टले २.१ ओभरमा २८ रन खर्चे । बुमराहले ४ ओभरमा १५ रनमात्र खर्चेका थिए ।
