कास्की — इरानको इरानी भलिबल टिम पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोली सेमिफाइनल पुगेको हो । इरानी टिमले पहिलो सेट २५–१४ ले जित्यो ।
गण्डकीले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१७ को जित निकाल्यो । इरानी टिमले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो । इरानी टिमले यसअघि बिहीबारको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपीएफबीच हुनेछ । शनिबार हुने उक्त खेल जित्ने टिम समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्नेछ ।
शुक्रबारको दोस्रो खेल समूह ‘बी’अन्तर्गत भारतीय टिम र त्रिभुवन आर्मी क्लबबीच जारी छ । भारतीय टिम बिहीबार नेपाल पुलिससँग सोझो सेटमा पराजित भएको थियो । यो खेलमा पराजित भएमा भारतीय टिम प्रतियोगिताबाट बाहिरिनेछ । आर्मीले जितेमा आर्मी सेमिफाइनल पुग्नेछ । आर्मीको पहिलो खेल हो । भारतीय टिमले खेल जितेमा भने सेमिफाइनल पुग्ने सम्भावना रहनेछ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा बिहीबारदेखि सुरू भएको प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा इरानी टिम, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’मा भारतीय टिम, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुई रहने टिमले सेमिफाइनल खेल्नेछन् । विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । तृतीय हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टलाई समान ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने लायन्स डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । फाइनल वैशाख २२ मा हुनेछ ।
