जयकुमार मेमोरियल क्रिकेट वैशाख २२ देखि

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Jayakumar Memorial Cricket from 22 Baisakh

काठमाडौँ — काठमाडौं जिल्ला क्रिकेट संघले जयकुमार नाथ शाह मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण वैशाख २२–२९ सम्म आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष तथा नेपाली क्रिकेटका भीष्मपिताको उपनामले परिचित जयकुमार नाथ शाहको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता हुन थालेको हो । खेलहरू मूलपानीको तल्लो र माथिल्लो मैदान र त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतियोगितालाई यस वर्षको एसिसी पुरुष यू–१६ ‍इस्टजोन कपको छनोट प्रतियोगिताका रूपमा लिएको संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर दिइनेछ । स्कुलस्तरीय प्रतियोगिता भएकाले यू–१६ टोलीका लागि उमेर परीक्षण पनि सही तरिकाले हुने अपेक्षा छ ।

गत वर्ष प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता र मोक्षदा स्कुल उपविजेता बनेको थियो । यसपालि २१ स्कुल सहभागिता रहने र त्यसलाई ७ समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ।

समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा कुल २८ खेल हुनेछ ।

सहभागी विद्यालयमा रेडियन्ट रिडर्स, मोक्षदा, रत्नराज्य, विस्डम एकेडेमी, भ्याली पब्लिक, एन्जल हर्ट्स, ग्यालेक्सी पब्लिक, अपी स्कुल, अक्षरा स्कुल, पिक प्वाइन्ट, नेपाल पुलिस स्कुल, त्रियोग हाइस्कुल, क्रिएटिभ एकेडेमी, गेटवे एकेडेमी, संस्कृति, सैनिक आवासीय, नेक्सस एकेडेमी, जेम्स, डीएभी सुशील केडिया र एलआरआई स्कुल रहेका छन् ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ७५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, विधागत उत्कृष्टले जनही ५ हजार पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले १ पाउनेछन् ।

प्रतियोगिताको अनुमानित खर्च १६ लाख ३५ हजार रहेको आयोजकले जनाएको छ । मुख्य प्रायोजकमा बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रालि र सह–प्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज रहेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully