राष्ट्रिय हक्की प्रतियोगिता : कोशी र गण्डकी विजयी

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

National Hockey Tournament: Koshi and Gandaki win

काठमाडौँ — कोशी र गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेका छन् ।ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार पुरुषतर्फ कोशी र महिलामा गण्डकी विजयी भए । दीपक खतिवडाको कप्तानीमा रहेको कोशीले मधेश प्रदेशमाथि ५–३ गोलको जित पायो ।

कोशीबाट लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले १–१ गोल गरे । मनकेशर साहको कप्तानीमा उत्रेको मधेशबाट रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेयर अफ द म्याच भए । उनले २ हजार रुपैयाँ पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेशले हार सामना गरेको हो ।

समूह ‘ए’ को कोशीले पहिलो खेलमा जित्दै ३ अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको छ । पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । आर्मीले गण्डकीलाई ३–० ले हराएको थियो ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपीएफ र बागमती प्रदेश छन् । एपीएफ नयाँ टिम हो । एपीएफले डेब्यु खेलमा बागमतीसँग गोलरहित बराबरी खेलेको थियो ।

National Hockey Tournament: Koshi and Gandaki win

बिहीबार महिलातर्फ सोनु बरालको कप्तानीमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हरायो । गण्डकीका मायौरी राई र गीता पुनमगरले गोल गरेका थिए । बागमतीको कप्तानी सन्जिता श्रेष्ठले गरेकी थिइन् । एक गोल उनैले गरिन् । खेलमा मायौरी प्लेयर अफ द म्याच भइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले बिहीबार महिलातर्फ खेलकोृ उद्घाटन गरेका थिए । महिलामा आर्मी, गण्डकी, मधेश र बागमती प्रदेशको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

National Hockey Tournament: Koshi and Gandaki win

कान्तिपुर

Link copied successfully