कास्की — पोखरामा प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
उद्घाटन खेलमा इरानको इरानी भलिबल टिमले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टिमले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५—२० ले आफ्नो पक्षमा पारेको इरानी टिम दोस्रो सेटमा पराजित भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले ३१–२९ ले इरानी टोलीलाई हरायो । २९—२९ को अवस्थामा रहेको बेला लगातार २ अंक जोडेर एपीएफले दोस्रो सेट जित्यो । इरानी टिमले तेस्रो सेटमा २५–२३ र चौथो सेटमा एपीएफलाई २५–१९ ले पराजित गर्यो ।
समूह ‘बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लबबीच प्रतियोगिताको दोस्रो खेल जारी छ । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा इरानी टिम, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’मा भारतीय टिम, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टिमले सेमिफाइनल खेल्नेछन् ।
फाइनल खेल वैशाख २२ मा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । तृतीय हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । यो भलिबल प्रतियोगिता पोखरामा भएको पहिलो अन्तर्राष्ट्रियस्तरको इन्डोर प्रतियोगिता हो ।
