लायन्स कप भलिबल : भारतीय टिममाथि पुलिसको सहज जित

वैशाख १८, २०८२

अनुप पौडेल

Lions Cup Volleyball: Police easily beat Indian team

काठमाडौँ — पोखरामा बिहीबारदेखि सुरु प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । 

पोखरा रंगशालास्थित बहुद्देश्यीय कभर्ड हलमा भएको खेलमा पुलिसले भारतीय टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित्यो । 

पोखरामा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय स्तरको इन्डोर भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानी भलिबल टिम विजयी भएको थियो । समूह ‘ए’ को खेलमा उक्त टिमले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्‍यो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा इरानी टिम, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टिम, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनल खेल्नेछन् । 

शुक्रबार पहिलो खेल समूह ‘ए’का इरानी भलिबल टिम र गण्डकी प्रदेशबीच हुनेछ । दोस्रो खेलमा भारतीय टिम र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।  

विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । तृतीय हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टलाई समान ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने लायन्स डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । फाइनल वैशाख २२ मा हुनेछ ।

अनुप

Link copied successfully