सुनसरी — घरेलु टिम कोशी प्रदेशले तेस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ । विभागीय टिम नेपाल पुलिस क्लबमाथि जित निकालेको कोशी बुधबार भारतीय टिम आसाम क्लबसँग ९७ रनले पराजित भयो ।
यो खेलमा पराजित भएसँगै समूह ‘बी’ बाट कोशीको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस जितेको पाहुना टोली आसामले ४७.३ ओभरमा अलआउट हुँदै २ सय ९ रन बनायो ।
कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन बनाए । उनले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गरे । अरुण सोनारले ५१, राज विश्वाले २४, केभिन क्रिस्टोफरले १५ र अमित सिन्हाले १२ रन बनाए । कोशीका प्रेम कामतले ४, विपिनकुमार महतो र भूपाल लुईंटेलले २–२ विकेट लिए ।
२ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमै समेटियो । आइस भट्टराई र विपिन कुमारले १५–१५ बनाउँदा चिराग शाहले ११ रन बनाए । प्लेयर अफ द म्याच गोकुल शर्मा र तपनकुमार शर्माले ३–३ तथा राज विश्वाले २ विकेट हात पारे ।
बिहीबार आसामले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेलमा जित हात पारे आसामले आर्मीसँग उपाधि भिडन्त पक्का गर्नेछ । पराजित भएको खण्डमा तीनवटै टोलीले रनरेटमा भर पर्नुपर्नेछ ।
