काठमाडौँ — नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक गरेको छ ।
लिगको सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा वैशाख २० मा शनिबार कीर्तिपुर र सामाखुसी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा हाउन्ड्स एकेडेमी र रोयल्सबीच खेल हुनेछ । वैशाख २१ मा टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट कलेजबीच हुनेछ ।
हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ । विकेन्डको संरचनामा यो बास्केटबल लिग हुन लागेको हो । सुरुमा शनिबार र आइतबारमात्रै खेल गर्ने तयारी रहे पनि वर्षाको मौसम र लामो समय लाग्ने भएकाले मंगलबार र बुधबार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भीमसिंह गुरुङले जनाए ।
६ साता चल्ने बास्केटबल लिगमा ५ साता लिग चरणको खेल हुनेछ । लिगका खेल त्रिपुरेश्वरस्थित राखेप आउटडोर कोर्टमा खेलाउने तयारी छ । प्रतियोगितामा टाइम्स, हाउन्ड्स, गोल्डेनगेट, रोयल्स, कीर्तिपुर र सामाखुसी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
