ज्ञान मेमोरियल ओपन गल्फ हुने

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Gyan Memorial Open Golf

काठमाडौँ — ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिता हुने भएको छ । ज्ञान फाउन्डेसनले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता गर्नेछ । फाउन्डेसनका मनोज खालिङका अनुसार १ सय खेलाडी प्रतिस्पर्धी हुनेछन् ।

आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बाको बुवाको नाममा ३ वर्षदेखि यो प्रतियोगिता हुँदै आएको छ । प्रो गल्फर सचिन भट्टराईले सन् २०२३ मा ४५ र गत वर्ष पुरुषतर्फ ५२ र महिलातर्फ २१ खेलाडीले भाग लिएको बताए ।

यस वर्ष लेडिज ओभरअल, यू–१८ ब्वाइज र गर्ल्स, सिनियर लेडिज, सुपर सिनियर लेडिज, क्याडी, ब्वाइज यू–१६, यू–१० तर्फ ब्वाइज र गर्ल्सको प्रतिस्पर्धा हुनेछ । नेपाल गल्फ संघ, आरएनजीसी, आरएनएको सहयोग रहने यस प्रतियोगितामा पोखरा र धरानका खेलाडी भाग लिने खालिङले जनाए ।

आरएनजीसीकी लेडी क्याप्टेन आर्सिया बानुले महिला र जुनियर खेलाडीको विकासमा यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने बताइन् । समापनमा श्याम चित्रकार, महेश आचार्य र सरिता श्रेष्ठ गरी खेलकुदका तीन सञ्चारकर्मीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully