नवौं पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

वैशाख १७, २०८२

दीपक परियार

Ninth Pokhara Sports Award nominations announced

पोखरा — पोखरामा वैशाख २६ मा हुने नवौं पोखरा स्पोर्ट्स अवार्डका लागि बुधबार चार विधामा मनोनयन सार्वजनिक भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले पत्रकार सम्मेलन आयोजना गरी ७ मध्ये ४ विधामा मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटीएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) मनोनयनमा परेका छन् ।

वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनको सूचीमा छन् ।

यी बाहेक लाइफटाइम अचिभमेन्ट अवार्ड खेल क्षेत्रका अग्रज व्यक्तित्वलाई प्रदान गरिने मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए । अवार्ड समारोहमै वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबलाई पुरस्कृत गरिने उनले सुनाए । ‘खेलाडीको मनोबल उकास्न र उनीहरुमा उर्जा थप्न ०७२ देखि अवार्ड प्रदान गरिँदै आएको छ,’ उनले भने । 

मञ्चले वर्ष खेलाडी पुरुष र महिलालाई एक–एकवटा इलेक्ट्रिक स्कुटर प्रदान गर्ने छ । लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेलाई चाँदीको करुवा र ताम्रपत्र प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले बताए । अन्य विधामा उत्कृष्ट हुनेले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

मनोनयन सार्वजनिक कार्यक्रममा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले युवा विदेश पलायन हुँदा खेलकुद क्षेत्रमा समेत यसले ठूलो असर पारेको बताए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully