काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा बुधबार दोहोरा सफलता पाएको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल रंगशालामा आर्मीको पुरुष र महिला दुवै टोली विजयी भएको छ ।
पुरुषतर्फ समूह ‘ए’ मा आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्यो । आर्मीका प्रदीप राजवंशी, काशीराज राई र देवसिंह धामीले गोल गरे । रोशन चौधरी प्लेयर अफ द म्याच भए ।
लिगकम नकआउटका आधारमा भएको स्पर्धामा आर्मी र गण्डकीसँगै समूह ‘ए’ मा मधेश र कोशी प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपीएफ र बागमती प्रदेश छन् । एपीएफ हक्कीमा नयाँ टिम हो ।
समूह ‘बी’ पुलिसले कर्णालीलाई ९–० ले हराएर सुखद सुरुआत गरेको छ । पुलिसका आयुष शाह र सुरेशप्रसाद जोशीले २, शंकर घर्तीमगर, नवराज खत्री, सुरज बोहरा, काशीराम खत्री र अमित ओझाले १–१ गोल गरे । आयुष प्लेयर अफ द म्याच भए । महिलातर्फ आर्मी, गण्डकी, मधेश र बागमती प्रदेशको सहभागिता छ । स्पर्धा राउन्ड रोबिन लिगका आधारमा भएको छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । आर्मीले मधेश प्रदेशमाथि ७–० गोलको जित निकालेको छ । सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आर्मीले सहज जित दर्ता गर्यो । निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेयर अफ द म्याच भइन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप बोर्ड सदस्य तथा हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतले उद्घाटन गरेका थिए ।
पुरुष तथा महिला दुवैतर्फ शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाउनेछन् ।
