पोखरामा बिहीबारदेखि लायन्स कप अन्तर्राष्ट्रिय भलिबल

वैशाख १७, २०८२

अनुप पौडेल

Lions Cup International Volleyball from Thursday in Pokhara

कास्की — राष्ट्रिय खेल भलिबल र पयर्टन प्रवर्द्धनको उद्देश्यले पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको इन्डोर भलिबल प्रतियोगिता हुने भएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा बिहीबारदेखि प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । 

२ विदेशीसहित ६ टिम प्रतियोगितामा सहभागी हुने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी दिए ।

३ विभागीय, गण्डकी प्रदेश, भारत र इरानका टिम प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी ६ टिमलाई २ समूहमा विभाजन गरेर लिग खेलाइनेछ । लिगपछि दुवै समूहको शीर्ष दुईमा रहने टिमले सेमिफाइनल खेल्नेछन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन कभर्ड हलमा प्रकाश मिलाउनेसहित प्रतियोगिता सञ्चालनको सबै तयारी अन्तिम चरणमा पुगेको अर्यालले बताए ।

विजेताले ४ लाख ४४ हजार ४ सय ४४, उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्ट सबैलाई समान ८ हजार ४ सय ४४ रुपैयाा प्रदान गरिनेछ । 

फाइनल वैशाख २२ मा हुनेछ । प्रतियोगिता हेर्न दर्शकलाई ३ सयदेखि ५ सय रुपैयाँसम्म टिकट लाग्नेछ । पहिलो, दोस्रो र तेस्रो दिनसम्म ३ सय, चौंथो दिन अर्थात् सेमिफाइनलमा ४ सय र फाइनलमा ५ सय रुपैयाँको टिकट राखिएको छ । 

३ हजार दर्शकले एकसाथ खेल हेर्नसक्ने कभर्ड हलको क्षमता छ । प्रतियोगिता सञ्चालन गर्न ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । टिकट बिक्री र प्रायोजकबाट उक्त रकम संकलन गरिने आयोजकले बताएको छ ।

अनुप पौडेल

Link copied successfully