कोलकाताको आशा जीवितै 

वैशाख १७, २०८२

एजेन्सी

Kolkata's hope lives on

दिल्ली — कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । कोलकाताले मंगलबार फिरोजशाह कोट्ला रंगशालामा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाई २ सय ४ रन बनायो । जबाफमा दिल्लीले ९ विकेट गुमाई १ सय ९० रनमात्र बनाउन सक्यो । दिल्लीले आफ्नो घरेलु मैदानमा ४ खेलमा भोगेको यो तेस्रो पराजय हो । दिल्लीले घरेलु मैदानमा जितेको एक खेल पनि राजस्थान रोयल्समाथि सुपर ओभरमा थियो ।

डिफेन्डिङ च्याम्पियन कोलकाताको यस जितपछि प्लेअफमा पुग्ने सम्भावना पुनः ब्युँतिएको छ । रोयल च्यालेन्जर्स बेंगलुरु १४ अंकसहित शीर्षस्थानमा छ । मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र दिल्ली समान १२, पञ्जाब किंग्स ११, लखनउ सुपर जायन्ट्स १० र कोलकाता ९ अंकसहित क्रमशः दोस्रोदेखि सातौं स्थानमा छन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । राजस्थान, सनराइडर्स हैदराबाद समान ६ र चेन्नई सुपर किंग्स ४ अंकसहित पुछारको तीन स्थानमा छन् ।

पहिला ब्याटिङ गरेको कोलकाताबाट अंगकृष रघुवंशीले ३२ बलमा सर्वाधिक ४४ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले रिंकु सिंहसँग पाँचौं विकेटमा ६३ रनको साझेदारी गरे । रिंकुले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रहमनुल्लाह गुरबाज र सुनिल नारिनले ३ ओभरमै ४८ रन जोडेर कोलकातालाई उत्कृष्ट सुरुआत दिलाए । गुरबाजले १२ बलमा ५ चौका र १ छक्कासहित २६ र नारिनले १६ बलमा समान २ चौका र छक्कासहित २७ रन बनाए ।

कप्तान अजिन्क्या रहानले १४ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । वैंकटेश ऐर ७ रनमै आउट भए । एन्ड्रे रसेल ९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए । दिल्लीबाट मिचेल स्टार्कले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान अक्षर पटेलले ४ ओभरमा २७ र विपराज निगमले ४ ओभरमा ४१ रन खर्चेर २–२ विकेट लिए । 

फाफ डु प्लेसिसले ४५ बलमा ६२ रन बनाए पनि दिल्ली लक्ष्यमा पुग्न सकेन । अभिषेक पोरेल ४, करुण नैर १५ र केएल राहुल ७ रन बनाई आउट भए पनि डु प्लेसिसले ७ चौका र २ छक्का प्रहार गरे । उनले कप्तान पटेलसँग चौथो विकेटमा ७६ रन जोड्दा दिल्ली बलियो स्थितिमा देखिएको थियो । पटेलले २३ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । 

ट्रिस्टन स्टब्स १ र अशुतोष शर्मा ७ रनमै आउट भएपछि विपराजले आक्रामक इनिङ्स खेल्दै टोलीलाई विजय नजिक पुर्‍याए । विपराजले १९ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाए । कोलकाताबाट नारिनले ३ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा २९ रन खर्चे । वरुण चक्रवर्तीले २ तथा अनुकूल रोय, वैभव अरोरा र रसेलले १–१ विकेट लिए । 

एजेन्सी

Link copied successfully