काठमाडौँ — प्रदीप खड्का र सक्षमविक्रम शाह ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनल पुगेका छन् । प्रदिपले सोमज श्रेष्ठलाई ६–०, ६–० ले र सक्षमले अभिनय अछामीलाई ६–०, ६–० ले सोझो सेटमा पराजित गरेका हुन् ।
पुरुष सिंगल्समै राजवीर प्रधानले निश्चल कायस्थलाई ६–०, ६–२ ले, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६–०, ६–० ले, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७–५, ६–३ ले, निशान श्रेष्ठले सर्वेश खनाललाई ६–०, ६–० ले, निहालजंग थापाले बोरिस अधिकारीलाई ४–६, ६–१, ६–२ र प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६–३, ६–४ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाए ।
मिक्स डबल्समा अभिलाषा विष्ट र आरभसम्राटको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा हराएर सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीले रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीलाई ७–५, ६–२ तथा कमल भण्डारी र सुमित मैनालीको जोडीले मानबहादुर कटुवाल र हिमाल शाहको जोडीलाई ६–१, ६–४ ले हराएर फाइनलमा स्थान पक्का गर्यो ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, साम्डुप लामा, गगन महर्जन, सीमान्त गुरुङ, भीष्मजंग गुरुङ, समीर गुरुङ, सोभित गौचन र सन्तोष खत्री आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मिथ, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल तय गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रदीप शाह, राजु राई र चन्द्र शाही क्वाटरफाइनलमा पुगेका छन् ।
