स्लटको सजिलो शैली

बीबीसी स्पोर्ट्सका ३० फुटबल पण्डितलाई यो सिजन कसले लिग जित्छ भनेर प्रश्न गरिादा कोही एकले पनि लिभरपुलको नाम लिएनन्, तर स्लटले टोलीलाई च्याम्पियननै बनाए

वैशाख १६, २०८२

रोयटर्स

Easy style of slots

लिभरपुल — योर्गन क्लोपले भावपूर्ण बिदाइ लिएको २४ घण्टा पनि बितेको थिएन लिभरपुलले नयाँ प्रशिक्षकको नाम घोषणा गरिसकेको थियो । उनी थिए, आर्ने स्लट । उनको काँधमा ‘मिसन इम्पोसिबल’ को जिम्मेवारी बोकाइएको थियो । त्यतिमात्र होइन, उनलाई जादुयी क्लोपको ठाउँ पनि लिनु थियो । 

फेरि क्लोपको फुटबल रणनीति आफैंमा अत्यधिक आक्रामक थियो । उनलाई लिभरपुल सहर पनि उत्तिकै मनपर्थ्यो । क्लोपले ९ वर्ष मर्सिसाइड सहरमा बिताए र लिभरपुललाई दिलाए सात ठूला उपाधि । त्यसमा एउटा युरोपेली च्याम्पियन्स लिगको उपाधि पर्छ भने एउटा इंग्लिस प्रिमियर लिगको सफलता । 

खासमा लिभरपुलले ३० वर्षयता पहिलो पटक माथिल्लो डिभिजनको इंग्लिस लिग जितेको थियो । त्यसैले क्लोपलाई यसअघिका दुई महान् प्रशिक्षक बिल स्यान्कली र बब पेस्लीसँग पनि तुलना गर्न थालिएको थियो । यस्तोमा स्लटलाई पनि राम्रोसँग थाहा थियो काम कति गाह्रो छ । 

एकपछि अर्को उपाधि जित्ने प्रशिक्षकको ठाउँ लिन कति गाह्रो हुन्छ भने इतिहास फेरि धेरै पुरानो छैन । म्यानचेस्टर युनाइटेडमा एलेक्स फर्गुसनको ठाउँमा आएका डेविड मोयसको स्थिति के भयो, कसलाई थाहा छैन र ? अनि आर्सनलका आर्सन वेंगरले छाडेपछि जिम्मेवारी पाएका उनाइ इमरीलाई के भयो, त्यो पनि सबैलाई थाहा छ । खासमा दुवै प्रशिक्षक लामो समय टिकेनन् । तर स्लटले यस्तै गाह्रो कामलाई यति सजिलो बनाए कि मानौं त्यो स्टानली पार्कमा बिहान विस्तारै हिँडे जत्तिकै रह्यो । 

पछिल्लो सिजन प्रिमियर लिग उपाधिको होड दुई क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच चलेको थियो । धेरैले यसपल्ट पनि यही प्रवृत्ति दोहोरिने अनुमान गरे, लिभरपुललाई उपाधि होडमा समेत राखेनन् । सबैले आशंकाले भरिएको आँखाले स्लटलाई हेरे र उनीबाट कसैले धेरै ठूलो आस पनि गरेनन् । बीबीसी स्पोर्ट्सका ३० फुटबल पण्डितलाई यो सिजन कसले लिग जित्छ भनेर प्रश्न गरिँदा कोही एकले पनि लिभरपुलको नाम लिएनन् । 

लिग के केही साता पुरानो मात्रै भएको थियो । स्पष्ट संकेत देखिन सुरु भएको थियो कि लिभरपुलले स्लटलाई फेयर्नुडबाट झिकाउनु गलत थिएन । उनीसँग लगभग ठ्याक्कै त्यही टिम थियो, जुन क्लोपले छाडेर गएका थिए । यही टिमले लिगका सुरुआती १० खेलमध्ये आठमा जित निकाल्यो । लिभरपुलको इतिहासमै कोही नयाँ प्रशिक्षकले पाएको सबैभन्दा राम्रो सुरुआत यही थियो । सिटीको खस्कँदो खेल अनि आर्सनलको उतारचढावपूर्ण प्रदर्शनले पनि लिभरपुल सजिलो नै बनायो । 

त्यसैले एक साता छाडेर सेप्टेम्बर १८ यता सधैं लिभरपुल अंकतालिकाको शीर्षमै रह्यो । यसबीच लिभरपुलले गुमाएको खेल भनेको दुई मात्रै रह्यो । त्यसो त स्लटको नेतृत्वमा सबथोक राम्रै मात्र भएको छैन । उनलाई आलोचना गर्ने आधार पनि छन् । जसरी लिभरपुल लिग कपको फाइनलमा न्युकासल युनाइटेडसँग हार्‍यो, जसरी एफए कपमा दोस्रो डिभिजनको प्लेमाउथसँग पराजित भयो, ती कुनै पनि दृष्टिकोणले खराब नै थिए । 

अझ युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हारेर लिभरपुल प्रतियोगिताबाटै बाहिरिनु पनि त निराशाजनक रह्यो । लिभरपुलका लागि सबैभन्दा महत्त्वको उपाधि भने लिग नै थियो, यसमा दुविधा छैन । अहिलेको समेत गरेर लिभरपुल २० पल्ट इंग्लिस च्याम्पियन भएको छ । 

आफ्नो पारम्परिक शत्रु क्लब युनाइटेडसँग माथिल्लो डिभिजनको उपाधि जितेको संख्यामा बराबरी गरेको छ । खासमा लिभरपुलका लागि यो नै ठूलो हो । 

यही एक उपलब्धि कारण स्लटले ठूलो न ठूलो उपलब्धि चुमेका छन्, जुन यसअघि डेब्यु सिजनमै लिग जितेर चेल्सीमा जोसे मोउरिन्हो, चेल्सीमै कार्लो एन्सेलोट्टी, सिटीमा म्यानुयल पेलेग्रिनी र फेरि चेल्सीमै एन्टोनियो कोन्टेले चमत्कार गरेका थिए । केहीलाई अझै लाग्न सक्छ, क्लोप छँदा लिभरपुल जति आक्रामक देखिएको थियो, अहिले छैन । लिभरपुलको खेल हेर्दा पनि उति साह्रो सनसनी हुन्न । बरू लिभरपुल यसपल्ट अलिकति बढी नै अनुशासित देखिएको छ । 

तर यी सबै आरोपमा स्लटलाई कुनै रुचि हुने छैन । लिभरपुलले अहिलेसम्म खेलेका ३४ खेलमध्ये ५ लाई छाडेर सबैमा दुई वा त्यो बढी भन्दा गोल गरेको छ । अंकतालिकामै सबैभन्दा बढी गोल गर्ने त लिभरपुल नै छ । खासमा लिभरपुल टिमसँगै सुरुमै विश्वस्तरीय खेलाडीको एक हुल थियो, तिनैलाई स्लटले अलिकति बढी आत्मविश्वासी बनाउने काम गरे । त्यसैले उनलाई कोही ठूलो नाम भएका खेलाडी किन्नुपरेन । 

टोटेनहमलाई सजिलै हराएर लिग जित्ने निश्चित भएपछि स्लटको पहिलो प्रतिक्रिया थियो, ‘म साह्रै गर्व महसुस गरिरहेको छुं । अहिले हामीले के अनुभव गरिरहेका छौं भनेर सोधिन्छ भने मसँग त्यसको उत्तर नै छैन । खेल अगाडि र पछाडि एनफिल्ड अनि पूरा सहरमै जे जस्तो दृश्य देखियो, त्यसैले बयान गर्छ, वास्तवमै भएको के थियो भनेर । ५ वर्ष अगाडि हामीले लिग जित्दा हाम्रासामु समर्थक थिएनन् । त्यसैले यसपल्टको जित अझ खास र विशेष भएको छ ।’

रोयटर्स

Link copied successfully