सल्यान — शारदा नगरपालिका–२ लुहापिङस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको खेल मैदानमा वैशाख ६ देखि जारी अन्तरपालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बाग्चौर नगरपालिकाले जितेको छ ।
लिग चरणदेखि लगातार ९ खेलमा अपराजित यात्रा कायम गरेको बाग्चौरले फाइनल खेलमा ४ विकेटले कुमाख गाउँपालिकालाई हराउँदै उपाधि जितेको हो ।
फाइनल खेलमा टस जितेको बाग्चौरले फिल्डिङ रोजेको थियो भने कुमाख गाउँपालिकाले पहिला ब्याटिङ गरेको थियो । जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविनकुमार हमालका अनुसार निर्धारित २० ओभरमा कुमाख गाउँपालिकाले ७ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको बाग्चौरले ६ विकेट गुमाउँदै १७ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको थियो । शारदा नगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघको समन्वयमा सञ्चालित अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा उपाधि हासिल गरेपछि बाग्चौर नगरपालिकाले एक लाख पुरस्कार र कुमाख गाउँपालिका दोस्रो भएर ५० हजार पुरस्कार पाएको अध्यक्ष हमालले बताए ।
शुक्रबार भएको खेलमा बाग्चौरले शारदा नगरपालिकालाई र कुमाखले त्रिवेणी गाउँपालिकालाई हराउँदै फाइनल खेलमा प्रवेश गरेका थिए । गत वर्ष पनि अन्तरपालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बाग्चौरले नै जितेको थियो ।
