आरसीबी शीर्ष स्थानमा

घरेलु मैदानबाहिर लगातार छैटौं खेल जित्दै आरसीबीद्वारा उपाधि दाबेदारी प्रस्तुत

वैशाख १५, २०८२

एएफपी

RCB on top

दिल्ली — भारतीय अलराउन्डर क्रुनाल पाण्ड्या ब्याट र बलमा चम्किएपछि रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । 

१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा आरसीबीले २६ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि विराट कोहली र पाण्ड्याले चौथो विकेटमा १ सय १९ रनको साझेदारी गरेपछि आरसीबीले दिल्लीको घरेलु मैदानमा ९ बल अगाडि नै १ सय ६५ रन बनाएको थियो । 

दिल्लीमा जन्मिएका कोहलीले ५१ रन बनाए । देब्रेहाते पाण्ड्याले ४७ बलमा अविजित ७३ रन बनाए । बलिङमा पनि ४ ओभरमा २८ रन मात्र खर्चेर १ विकेट लिएका प्लेयर अफ द म्याच पाण्ड्याले ५ चौका र ४ छक्का प्रहार गरे । आरसीबीले १० खेलमा सातौं विजय हात पारेको हो । आरसीबीले घरेलु मैदानबाहिर लगातार छैटौं विजय हात पारेको हो । 

आफ्नो खेल जीवनमा पहिलो आईपीएल उपाधिको खोजीमा रहेका कोहलीले ४७ बल खेली ४ चौका प्रहार गरे । टिम डेबिड ५ बल खेली ३ चौका र १ छक्का प्रहार गरी १९ रनमा अविजित रहे । उनले मुकेश कुमारको बलमा यो सबै बाउन्ड्री प्रहार गरेका थिए । दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाई १ सय ६२ रन बनाएको थियो । भुवनेश्वर कुमारले ४ ओभरमा ३३ रन खर्चेर ३ र जोस हेजलउडले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएपछि दिल्लीको इनिङ्स खुम्चिएको थियो । यस दयालले पनि १ विकेट लिए ।

केएल राहुलले ३९ बल खेली ३ चौका प्रहार गरी ४१ रन बनाए । ट्रिस्टन स्टब्स १८ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३४, अभिषेक पोरेल ११ बलमा समान २ चौका र छक्का प्रहार गरी २८, फाफ डु प्लेसिस २६ बलमा २२ र पटेल १३ बलमा १५ रनमा आउट भए । दिल्ली १२ अंकसहित चौथो स्थानमा छ । 

मुम्बईको लगातार पाँचौं जित

मुम्बई/ लयमा रहेको मुम्बई इन्डियन्सले आफ्नो जित यात्रालाई अगाडि बढाउँदै आइतबारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्समाथि सजिलो ५४ रनको जित निकालेको थियो । मुम्बईको यो लगातार पाँचौं जित पनि हो र यो लखनउमाथि एकोहोरोजस्तै रह्यो ।

मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय १५ रन बनाएको थियो । त्यसको जवाफमा लखनउ १ सय ६१ रन बनाएर अलआउट भयो । लखनउलाई सस्तोमा समेट्न जसप्रित बुमराहले प्रमुख भूमिका खेले । उनले २२ रन मात्र खर्चेर चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले तीन र विल ज्याकले दुई विकेट लिए ।

लखनउका लागि मिचेल मार्सले बनाएको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस अगाडि मुम्बईका लागि रायन रिकेल्टनले ५८ र सूर्यकुमार यादवले ५४ रन बनाए । यसै क्रममा यादव यसपल्टको प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने सूचीको शीर्षमा रहे । यसपल्टको तेस्रो अर्धशतकसँगै उनले चार सय रनको सीमा नाघिसकेका छन् । 

एएफपी

Link copied successfully