सुनसरी — लगातार दुई खेलमा शतप्रतिशत जित निकाल्दै त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २ विकेटले पराजित गरेको आर्मीले लिग चरणको अन्तिम खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै साबिक विजेता आर्मी समूह 'ए'को शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुग्दा एपीएफ र बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ ।
विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती २४ दशमलव ३ बल खेल्दै ९६ रनमा समेटिएको थियो । बागमतीका लागि सचिन लेखकले ३४ रन बनाउँदा प्रतीक श्रेष्ठले १५ र आदिल खानले १० रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा बागमतीले सामान्य योगफल मात्र जोड्न सक्यो । बलिङतर्फ आर्मीका नरेन साउद एक्लैले ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट हात पारे । जवाफमा ९७ रनको झिनो लक्ष्य आर्मीले १७ दशमलव ३ बलमा ५ विकेट गुमाउँदै सहजै पूरा गरेको थियो । आर्मीका लागि निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाए । हिमांशु दत्तले १८ रन बनाउँदा विनोद भण्डारी र जितेन्द्रसिंह ठकुरीले समान ६–६ रन मात्र जोड्न सके ।
एमएम कप फाउण्डेसन सुनसरीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबारबाट समूह 'बी'का खेलहरु सुरु हुने छन् । समूह 'बी'को पहिलो खेलमा मंगलबार घरेलु टिम कोशी प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ । वैशाख २० गते हुने फाइनल खेलको विजेताले नगद चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ र ट्रफी पाउने छन् ।
