ताप्लेजुङ — सिरिजङ्गा महोत्सवको अवसरमा आयोजित कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । २ घण्टा ६ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका उनले २ लाख ८ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारेका छन् ।
उनका प्रमुख प्रतिस्पर्धी जुम्लाका धीरजबहादुर बुढा भए । २१ सेकेन्ड मात्रै ढिलो भएका उनले १ लाख ८ हजार ५ सय मा चित्त बुझाउनु पर्यो । बुढाले दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । रिबन चुम्ने उनीहरूको प्रतिस्पर्धाले दर्शकलाई रोचक बनाएको थियो ।
म्याराथन व्यवस्थापन समितिका संयोजक निक्की नेम्बाङका अनुसार दुई घण्टा दश मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेका ताप्लेजुङका बिबिसन लिम्बू तेस्रो भए । उनले ५८ हजार ५ सय सय रुपैयाँ पाए । प्रतिस्पर्धामा सहभागी चौंथोदेखि दसौँ सम्मका धावकलाई प्रोत्साहन स्वरुप ८ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष चित्रकुमार मावो लिम्बूका अनुसार सबै पुरस्कारमा ८ हजार ५ सय ८६ रुपैयाँ दिइएको थियो । यो कञ्चनजंघा हिमालको उचाइ हो ।
सिरिजङ्गा गाउँपालिकाको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएर १५ गते सकिएको हो । कञ्चनजंघा हिमालको आधार शिविर याम्फुदिनको नयाँ झोरेनी भन्ने स्थानमा गरिएको थियो । प्रतियोगिताका विजेतालाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रीले हौसला प्रदान गरे । महोत्सवमा खेलकुद, साहित्य, लगायतका कार्यक्रम गरिएको थियो ।
