काठमाडौँ — नेपाली जुडो खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।
महिला ५२ केजीमुनि देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग अंकका आधारमा पराजित भएकी हुन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जनाएका छन् ।
बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४ औं र नान्दिन ७५ औं स्थानमा रहेका खेलाडी हुन् ।
अप्रिल २५–२७ सम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा देवकीसहित नेपालका ६ खेलाडीले भाग लिएका थिए । महिला ५७ केजीमुनि ओलम्पियन मनिता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई हराइन् भने दोस्रो चरणमा काजकिस्तानकी खेलाडीसँग पराजित भइन् । महिला ७० केजीमुनि रञ्जना खड्का भारतीय खेलाडीसँग हारिन् ।
पुरुष ६० केजीमुनि विकास बिक तुर्कमेनिस्तानका खेलाडीलाई हराएर दोस्रो चरण पुगे पनि त्यहाँ बहराइनका खेलाडीसँग पराजित भए । ६६ केजीमुनि विशेष बिकले तुर्कमेनिस्तान र ९० केजीमुनि विपिन तामाङले भियतनामका खेलाडीसँग पराजय भोगेका थिए ।
