लन्डन — बेलायतमा २६ अप्रिल शनिबार आयोजित यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको उक्त खेलमा फार्नबोरो इलाइटलाई १-० अन्तरको गोलले पराजित गर्दै एफसी केन्टले उपाधि जितेको हो । विजेता टिमलाई यलम्बरहाङ कप, एकहजार पाउण्ड नगद र ट्रफी प्रदान गरियो ।
किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, प्रमुख अतिथी पूर्वमन्त्री विजयप्रकाश थेबे, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मेन, भेट्रान र सुपर भेट्रान गरी कुल ३२ टिम प्रतिस्पर्धी थिए । भेट्रान समूहतर्फ धरान ११ विनर र केवाईसी यूके वारवीकसायर रनरअप बने भने सुपर भेट्रान समूहमा इलाम एफसी विजेता र मेडस्टोन गोर्खा फुटबल क्लब रनरअप भए ।
