सुनसरी — सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । एमएम कप फाउण्डेसन सुनसरीको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बल खेल्दै ८० रनमा समेटिएको थियो । खराब सुरुवात गरेको बागमतीका ओपनर आशुतोष घिरैयालाई पहिलो ओभरको तेस्रो बलमा दिवान पुनले शून्य रनमा बोल्ड गराए ।
त्यसपछि आएका सुमन सुनारलाई दोस्रो ओभरमा भोजराज भट्टले दिपक बोहोराको हातबाट क्याच आउट गराएर खाता नै खोल्न दिएनन् । त्यसपछि आएका ब्याटर उत्तम थापामगर पाँचौँ ओभरमा १० रन बनाएर आउट भएपछि १३ रन जोड्न बागमतीले ३ विकेट खर्चिनुपरेको थियो ।
चौथो नम्बरमा आएका ब्याटर विवेक रानामगरसँग अर्का ओपनर कप्तान रित गौतमले ३३ रनको साझेदारी गरेपछि सम्मानजनक स्कोरतर्फ अघि बढेको बागमतीको प्रयासमा पुन: धक्का लाग्यो । रानामगर १३ रनमा आउट भए । गौतमले ३१ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा बागमती ८० रनमा समेटिन पुग्यो । बलिङतर्फ एपीएफमा प्रकाश जैसीले ४ विकेट लिए । अभिशेष गौतम ३ तथा भोजराज भट्टले २ विकेट हात पारे । ८१ रनको झिनो लक्ष्य एपीएफले ९ दशमलव ४ बलमा २ विकेट गुमाउँदै सहजै पूरा गर्यो । एपीएफका लागि दिपक बोहराले नटआउट ४८ रनको इनिङ खेल्दा कप्तान सुमित महर्जन १८ रनमा अभिजित रहे ।
सोमबारको खेल आर्मी र बागमती प्रदेशबीच हुने फाउण्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए । प्रतियोगितामा एक भारतीय टिमसहित ६ टोलीले सहभागिता जनाएका छन् । वैशाख २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाख र ट्रफी पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र उत्कृष्ट ब्याटर र बलरलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
