पुलिसलाई ९ स्वर्ण

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

9 gold to the police

काठमाडौँ — नेपाल पुलिस क्लबले प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियनको ट्रफी जितेको छ । पुलिसले ९ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेर पुलिसले ट्रफी जितेको थियो ।

एपीएफले ४ स्वर्ण, ६ रजत र ३ कांस्य जितेर दोस्रो भयो । त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, ६ रजत र २ कांस्यसहित तेस्रो स्थान हात पार्‍यो । बागमती, कोशी र मधेश प्रदेशले १–१ स्वर्ण पदक जितेका थिए । टिम च्याम्पियन पुलिसले २ लाख, एपीएफले १ लाख र आर्मीले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबार ६८ केजीमाथिको तौल समूहमा पुलिसकी एरिका गुरुङले स्वर्ण जितिन् । उनले लुम्बिनीकी दिया थापालाई ९–० अंकले सहजै पराजित गरिन् । महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन् । उनले फाइनलमा सोनु श्रेष्ठलाई १६–८ ले हराइन् । ५५ केजीको स्वर्ण बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९–३ ले हराएर जितिन् ।

पुरुष ७५ केजीमुनि पुलिसका राजीव पुडासैनी विजेता भए । उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए । ५० केजीमा मधेशका राकेश मानन्धरले फाइनलमा कोशी प्रदेशका दीपेश राईलाई हराएर स्वर्ण जिते । यल कराते सितोरियो डोले प्रदेश खेलकुद विकास परिषद बागमतीको सहयोगमा प्रतियोगिता आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully