काठमाडौँ — अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा राष्ट्रिय सहकारी महासंघले प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता वैशाख २५ र २६ गते ललितपुरमा हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यसअघि पहिलो संस्करण २०८० जेठ १५ मा भएको थियो । त्यसमा काठमाडौंका सुदीप तामाङ विजेता भएका थिए ।
प्रतियोगितालाई नेपाल बुद्धिचाल संघले प्राविधिक सहयोग गर्नेछ । यसपालि प्रतियोगितामा १ सय ५० बढी खेलाडी सहभागी हुने जनाइएको छ । विजेताले ४० हजार रुपैयँ पुरस्कार प्राप्त गर्नेछन् । विजेताले एक वर्षका लागि १० लाख रुपैयाँबराबरको आवधिक जीवन बीमा सुविधा प्राप्त गर्नेछन् ।
दोस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ र ७ लाख रुपैयाँ बराबरको बीमा प्राप्त गर्नेछन् । तेस्रो हुनेले १५ हजार र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् । उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार दिइनेछ । उत्कृष्ट तीन महिला खेलाडीमा विजेताले ७ हजार, दोस्रोले ६ हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछन् ।
उत्कृष्ट भेट्रान, अनरेटेड, यू–१६, यू–१८, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट बिमा खेलाडीलगायतले पनि नगद पुरस्कार पाउने छन् ।
खेलमार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवर्द्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलबाट योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता गरिएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।
