छ पटकको च्याम्पियन एपीएफ स्तब्ध, पुलिस पहिलो पटक च्याम्पियन

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Six-time champions APF shocked, Police first-time champions

काठमाडौँ — नेपाल पुलिस क्लबले आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार फाइनलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधि जित्यो । एपीएफ ६ पटक च्याम्पियन टोली हो ।

पुलिससले २५–१५, २५–२३, २५–१६ को सेटमा हराएर उपाधि जित्यो । पुलिसकी कमला पुन प्लेयर अफ म्याच घोषित भइन् । एपीएफ सुरुका ५ संस्करण र सातौं संस्करण जितेको थियो । छैटौं संस्करणको च्याम्पियन न्यु डायमन्ड स्पोर्ट्स क्लब भने यसपटक सेमिफाइनलमा पराजित भयो ।

पुलिस अपराजित हुँदै च्याम्पियन भयो । उपाधि यात्रासम्म प्रहरीले कुनै पनि सेट गुमाएन । पुलिसले लिगमा न्यु डायमन्डलाई २५–१४, २५–२२, २५–१३ ले र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २५–६, २५–२२, २५–२३ ले हराएको थियो ।

लिगमा आर्मी र एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको एपीएफले सेमिफाइनलमा न्यु डायमन्डलाई ३–१ ले हराएको हो ।

Six-time champions APF shocked, Police first-time champions

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्ड तेस्रो भयो । टोलीले आर्मीलाई २५–१९, २५–१२, १५–१८ ले हरायो । डायमन्डकी सलिना बुढा मगर प्लेयर अफ द म्याच बनिन् ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयँ पुरस्कार पाए । पुलिसकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले ५० हजार पुरस्कार पाइन् । कामनाले काठमाडौं–बैंकक–काठमाडौंको हवाई टिकट जितिन् ।

विधागततर्फ स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी पुनम चन्द, सेटरमा पुलिसकी कमला पुन, लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सर्भरमा एपीएफकी पूजा चौधरी र प्रशिक्षकमा पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट भए । उत्कृष्ट सबैले जनही २५ हजार पुरस्कार पाए ।  

विजेतालाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully