चेन्नई — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजन पुछारका दुई टोलीबीचको प्रतिस्पर्धामा सनराइजर्स हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । ९ खेलमा सातौं हार भोगेपछि महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने लगभग पक्का भएको छ ।
टस हारेपछि ब्याटिङमा आएको पाँच पटकको च्याम्पियन चेन्नई १९.५ ओभरमा १ सय ५३ रनमै अलआउट भयो । अभिषेक शर्मालाई इनिङ्सको दोस्रो बलमै गुमाए पनि हैदराबादले ८ बलअघि लक्ष्य पूरा गर्यो । साबिक उपविजेता हैदराबादको ९ खेलमा यो तेस्रो विजय हो । टोली जितपछि नवौंबाट आठौं स्थानमा आएको छ ।
ओपनर ट्राभिस हेड १६ बल खेल्दै ४ चौकासहित १९ र हेनरिक क्लासेन ७ रनमै आउट भए । इशान किसनले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । अनिकेत बर्मा १९ बलमा २ छक्कासहित १९ रन बनाएर आउट भए । कामिन्दु मेन्डिस र नितिश कुमार रेड्डीले छैटौं विकेटमा अविजित ४९ रनको साझेदारी गरि हैदराबादलाई जिताए । मेन्डिसले २२ बलमा ३ चौका प्रहार गरी ३२ र नितिशले १३ बलमा २ चौकासहित १९ रन बनाई अविजित रहे । चेन्नईबाट नुर अहमदले २, खलिल अहमद, अंशुल काम्बोज र रवीन्द्र जडेजाले १–१ विकेट लिए ।
यसअघि हर्सल पटेलले उत्कृष्ट बलिङ गरेपछि हैदराबादले चेन्नईलाई सानो स्कोरमै अलआउट गर्यो । प्लेयर अफ द म्याच पटेलले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । कप्तान प्याट कमिन्सले ४ ओभर र जयदेव उनडकटले २.५ ओभरमा समान २१ रन खर्चेर २–२ तथा मोहम्मद सामी र मेन्डिसले १–१ विकेट लिए ।
कान्तिपुर म्याक्समा आईपीएलको प्रत्यक्ष प्रसारण हेर्न शुक्रबार साँझ ललितपुरको होटल स्क्वायरमा आयोजित विशेष समारोहमा अतिथिहरू । तस्बिर : दीपक केसी/कान्तिपुर
सामीले खेलको पहिलो बलमै साइक रशिदलाई आउट गरे । साम करन पनि ९ रनमै आउट भए । आयुष महात्रेले ३० रन बनाए । उनले १९ बलमा ६ चौका प्रहार गरे । रवीन्द्र जडेजा १७ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए । डेवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन बनाए । उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे । शिवम दुबे ९ बलमा १२, दीपक हुडा २१ बलमा २२, धोनी १० बलमा ६ रन बनाई आउट भए ।
