काठमाडौँ — पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१ औं विश्व केम्पो च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ ।
नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापाले प्रतियोगिताको तेस्रो दिन कांस्य पदक जितेका हुन् । पाँचौं डानका प्रशिक्षक तथा खेलाडी थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपबाट पदक दिलाए् । नेपाली केम्पो खेल इतिहासमै यो पदक पहिलो हो । महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाका अनुसार यस उपलब्धिले नेपाली केम्पोको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेको छ ।
नेपालले च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाएको हो । पहिलो सहभागितामा पदकविहीन फर्किएको नेपालले यसपालि थापाको उत्कृष्ट प्रदर्शनमार्फत सफलता पाएको हो । महासंघका अध्यक्ष पाभेल शाहले विपेशको उपलब्धि केम्पो, खेलकुद इतिहासमा कोसेढुंगा भएको बताए ।
काभ्रेका स्थायी वासिन्दा विपेश नेपाली केम्पो खेलकुदका अग्रणी प्रशिक्षक हुन् । उनले यसअघि पनि दक्षिण एसियाली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनको अन्तर्राष्ट्रिय स्तरको यो पदकले नेपाली युवालाई केम्पो खेलतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ ।
