यू–१९ दक्षिण एसियाली युथ टेबलटेनिस : स्वर्ण र रजत जित्दै नेपाली टोली छनोट

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

U-19 South Asian Youth Table Tennis: Nepali team selected by winning gold and silver

काठमाडौँ — नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यू–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।

नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी स्पर्धामा नेपाली टिम सर्वाधिक ७ अंक जोड्दै विजेता भयो । नेपालबाट प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुबिन महर्जनले प्रतिस्पर्धा गरेका थिए । बंगलादेश र पाकिस्तान तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको यू–१९ गर्ल्स टिम इभेन्टमा भने नेपाल दोस्रो भयो । नेपालले ७ अंक जोडेको थियो । इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले खेलेका थिए । ८ अंकसाथ भारत पहिलो भयो । श्रीलंका र बंगलादेश तेस्रो बने । पाँचै राष्ट्र सहभागी यो स्पर्धामा माल्दिभ्स थियो ।

यू–१९ ब्वाइज/गर्ल्स दुवै नेपाली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका छनोट भएको आयोजकले जनाएको छ । यू–१९ ब्वाइज/गर्ल्सको टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका छनोट हुने प्रावधान छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यू–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्यसम्मिलित नेपाली टोली दोस्रो भयो । भारत पहिलो तथा श्रीलंका र पाकिस्तान तेस्रो स्थानमा रहे । सोही स्पर्धाको गर्ल्समा भारत पहिलो, श्रीलंका दोस्रो तथा नेपाल र माल्दिभ्स तेस्रो भए । नेपालबाट शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेलेका थिए ।

U-19 South Asian Youth Table Tennis: Nepali team selected by winning gold and silver

कान्तिपुर

Link copied successfully