घरेलु मैदानमा आरसीबीको पहिलो जित

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

RCB's first win at home

बेंगलुरु — जेसल हेजलउडले उत्कृष्ट बलिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार नाटकीय खेलमा राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ ।

राजस्थानलाई अन्तिम २ ओभरमा विजयनिम्ति १८ रन बनाउनुपर्ने अवस्था थियो । तर १९ औं ओभरमा हेडजउडले लगातार बलमा ध्रुव जिरेल र जोफ्रा आर्चरलाई आउट गर्दै १ रनमात्र दिएपछि आरसीबीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । अन्तिम ओभरमा यश दयालले पहिलो बलमै शिवम दुवेलाई आउट गरी ५ रनमात्र खर्चेर घरेलु टोलीलाई विजय दिलाए । २ सय ६ रनको लक्ष्य पाएको राजस्थानले ९ विकेट गुमाई १ सय ९४ रनमात्र बनाउन सक्यो । 

घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा आरसीबीको जारी सिजनमा यो पहिलो विजय हो । यसअघिका घरेलु मैदानका तीनै खेलमा टोली पराजित रहेको थियो । विजयपछि आरसीबी तेस्रो स्थानमा उक्लेको छ । टोलीले ९ खेलमा १२ अंक बटुलेको छ । शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको दिल्ली क्यापिटल्सको पनि १२ अंक छ । राजस्थानको यो लगातार पाँचौं हार हो । ९ खेलमा ४ अंकमात्र बोकेको राजस्थानको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । 

हेजलउडले १७ औं ओभरमा ६ रनमात्र दिएर सिमरन हेटमायरको विकेट लिएका थिए । प्लेयर अफ द म्याच हेजलउडले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । क्रुनाल पाण्ड्येले ४ ओभरमा ३१ रन खर्चेर २ तथा भुवनेश्वर कुमार र दयालले १–१ विकेट लिए । 

यशस्वी जयसवालको आक्रामक इनिङ्समा ९ ओभरमा २ विकेट गुमाई १ सय १० रनमात्र बनाए पनि राजस्थानले खेल जित्न सकेन । १४ वर्षे वैभव सूर्यवंशी १२ बलमा २ छक्का प्रहार गरेर १६ रन बनाई आउट भए । जयसवालले १९ बलमै ४९ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । नितिश राना २२ बलमा २८ र कप्तान रियान पराग १० बलमा २२ रन बनाई आउट भए । जिरेलले ३४ बल खेल्दै समान ३ चौका र छक्कासहित ४७ रन बनाए । हेटमायर ११ र दुबे १२ रनमा आउट भए । 

यसअघि टस हारेर ब्याटिङमा आएको आरसीबीले २० ओभरमा ५ विकेट गुमाई २ सय ५ रन बनाएको थियो । फिल साल्ट २३ बलमा २६ रन बनाई आउट भएपछि विराट कोहली र देवदत्त पाडिकलले ९ ओभरभित्र ९५ रनको साझेदारी गरेका थिए । उत्कृष्ट फर्ममा रहेका कोहलीले ४२ बल खेल्दै ८ चौका र २ छक्कासहित ७० र पडिकलले २७ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाए । टिम डेबिड १५ बलमा २३ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । जितेश शर्मा १० बलमा ४ चौका प्रहार गरी २० रनमा अविजित रहे । राजस्थानबाट सन्दीप शर्माले २ विकेट लिएका थिए । 

कान्तिपुर

Link copied successfully