एपीएफलाई लुम्बिनी कप

वैशाख १२, २०८२

रुपा गहतराज

Lumbini Cup to APF

नेपालगन्ज — विभागीय टोली एपीएफ क्लबले पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबलाई नेपालगन्ज रंगशालामा अन्तिम समयमा स्तब्ध पार्दै उपाधि जितेको हो ।

एपीएफले शुक्रबारको फाइनल १–० ले जितेको थियो । नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा एपीएफले इन्ज्युरी समयमा गोल गरेको थियो । एपीएफकी गीता रानाले गरेको गोल निर्णायक बन्यो । उनी नै प्लेयर अफ द म्याच भइन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा पनि पुलिसलाई एपीएफले निरास बनाएको थियो । एपीएफले रौतहट एफसी टोली र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता बन्दै पुलिसले २ लाख ५० हजार पुरस्कार पायो । उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत भइन् । उनले २५ हजार प्राप्त गरिन् । उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डर एपीएफकै सरु लिम्बू, उत्कृष्ट स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक एपीएफकी भगवती थापा घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

२०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस त्यसयता उपाधिविहीन छ । त्यसयता एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । एपीएफले इलाम र चितवन गोल्डकप जितेको थियो ।

बाँके जिल्ला फुटबल संघसितको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully