स्कुल अफ मेडिकललाई प्रथम केयू रनिङ सिल्ड

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

First KU Running Shield to School of Medicine

काभ्रे — काठमाडौं विश्वविद्यालयको प्रथम रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा विश्वविद्यालयका ७ संकायका अलावा विभिन्न आंगिक क्याम्पसका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, एथलेटिक्सका इभेन्ट भए ।

सबैभन्दा बढी ११ स्वर्ण पदक प्राप्त गर्ने स्कुल अफ मेडिकल साइन्सेजले रनिङ सिल्ड जितेको छ । सोही संकायले महिलातर्फ १०० मिटर, पुरुषतर्फ १०० मिटर र २०० मिटर दौड, हाइजम्प, पुरुषतर्फ लङजम्प, महिलातर्फ टेबलटेनिस, महिलातर्फ भलिबल, पुरुषतर्फ भलिबल, महिलातर्फ क्रिकेट र पुरुषतर्फ क्रिकेटमा स्वर्ण पदक जितेको हो ।

स्कुल अफ ल ८ स्वर्णसहित दोस्रो स्थानमा रह्यो । यो संकायले महिलातर्फ २०० मिटर, ४०० मिटर, ८०० मिटर र ५००० मिटर दौड, ब्याडमिन्टन, चेस, फुटबल र पुरुषतर्फ चेसमा स्वर्ण पदक जितेको थियो ।

स्कुल अफ म्यानेजमेन्टले ४ स्वर्णसहित तेस्रो स्थान हासिल हो । यस संकायले पुरुषतर्फ ८०० मिटर दौड, महिलातर्फ शटपुट, पुरुषतर्फ टेबलटेनिस र पुरुषतर्फ बास्केटबलमा स्वर्ण पदक जितेको हो । स्कुल अफ साइन्सले २, मणिपाल कलेजले २, स्कुल अफ इन्जिनियरिङले १, स्कुल अफ आर्ट्सले १ र विराट मेडिकल कलेजले १ स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा करीब २ हजार खेलाडीले भाग लिएका थिए । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरे  । प्रतियोगिता विद्यार्थी कल्याण परिषद्ले आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully