सोनिम र एलिसालाई एकल काताको स्वर्ण

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Sonim and Alyssa won gold in singles

काठमाडौँ — प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको बिहीबार नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण जिते ।

काताको चार स्पर्धामा पुलिसले ३ र त्रिभुवन आर्मी क्लबले १ स्वर्ण जित्यो‌ । व्यक्तिगत कातामा सोनिम विजयी भए । एपीएफका मनिष कार्की दोस्रो तथा लुम्बिनीका वसन्त थारू र आर्मीका विनय लिम्बू तेस्रो भए ।

पुलिसले नै पुरुष टिम कातामा स्वर्ण जित्यो । स्वनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकसम्मिलित टिमले स्वर्ण जित्यो । एपीएफ दोस्रो तथा वागमती र सुदूरपश्चिम प्रदेश संयुक्त तेस्रो भए ।

महिला व्यक्तिगत कातामा पुलिसकी एलिसा रास्कोटी मगरले स्वर्ण जितिन् । आर्मीकी सानुमाया थिङले रजत तथा एपीएफकी सन्जु देसार र कोशीकी सलिना जोशीले कांस्य जिते । महिला टिम काताको स्वर्ण आर्मीका सानुमाया थिङ, संगीता मगर र सुनिता सुनारको टिमले जित्यो । सुदूरपश्चिम दोस्रो भयो । गण्डकी र कोशी प्रदेशले तेस्रो स्थानमा चित बुझाए ।

महिला ५५ केजी तौलमा एपीएफकी सोनाम शेर्पाले स्वर्ण जितिन् । उनले फाइनलमा मधेश प्रदेशकी पोरसिया चौधरीलाई हराइन् ।  

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद वागमतीले आयोजना गरेको प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ खेलाडीको सहभागिता छ ।  

कान्तिपुर

Link copied successfully