काठमाडौँ — नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।
पहिलो पटक हुन लागेको बास्केटबल लिग वैशाख २० देखि हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भीमसिंह गुरुङले बिहीबार पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा टाइम्स क्लब, हाउन्ड्स क्लब, गोल्डेनगेट क्लब, रोयल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुसी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ । खेल ‘विकेन्ड’मा खेलाइने छ । हरेक शनिबार र आइतबार खेल हुनेछ । मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउन सकिने अध्यक्ष गुरुङले बताए ।
खेल डबल राउन्ड रोबिन लिगमा हुनेछ । हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेल राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुनेछ ।
होम एन्ड अवे फर्म्याटमा खेल्ने योजना भए पनि मौसमको अवस्थाले गर्दा एउटै भेन्यूमा खेलाउन लागेको बताउँदै अध्यक्ष गुरुङले राखेप कभर्डहल र कीर्तिपुर कभर्डहल पनि विकल्पमा राखेको बताए ।
फाइनलमा दुई प्लेअफ खेल हुनेछ । बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ ।
पहिलो पटक परीक्षणस्वरुप विकेन्ड लिग गर्न लागेको उनले बताए । प्रतियोगिताका लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनायो ।
