काठमाडौँ — वाटा (डब्लूटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा प्रतिस्पर्धा गर्न नेपालका ५ खेलाडी बिहीबार जापानको ओसाका जाने भएका छन् ।
अप्रिल २५ देखि २७ सम्म हुने प्रतियोगितामा खेलाडीले ग्यारोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यू–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यू–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सरोज तामाङ छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । काजलले यसै प्रतियोगिताको २० औं संस्करणमा पनि निर्णायक थिइन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले बिदाइ गरे ।
