काठमाडौँ — एपीएफ र नेपाल पुलिस क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साबिक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–२०, २५–१३, २५–१६ को सोझो सेटमा हरायो । एपीएफ छ पटक विजेता हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ मा पुलिसले पूर्व विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–१४, २५–२२, २५–१३ ले हरायो । पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिममात्र रहेकाले पुलिस विजेता बन्दै सेमिफाइनल पुगेको छ । न्यु डायमन्ड पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।
बिहीबार दुई खेल हुनेछ । आर्मी र एभरेस्ट भलिबल क्लब तथा एपीएफ र एभरेस्टबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रतिष्ठानले महिला भलिबलको विकासमा योगदान पुर्याइरहेको बताए ।
महिला राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्डसहित ५० हजारसहित सम्मान गरियो । उषा विदेशमा रहेकाले सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि नगद ५० हजारसहित सम्मान गरियो । उनीहरूलाई सदस्य–सचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान प्रदान गरे ।
प्रतियोगिता विजेताले ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइनेछ । हरेक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल शनिबार हुनेछ ।
